काठमाडौँ, असाेज १ गते । नेपालको पूँजीबजारमा महिलाको सहभागिता उत्साहजनक रुपले बढ्दै गएको छ । नेपाल पुँजीबजार लगानीकर्ताकी अध्यक्ष राधा पोखरेलका अनुसार शेयर बजारमा लगानीकर्ताको सहभागिता सधैँ एउटै रहँदैन । शेयर बजार चक्रीय प्रणाली हो, त्यसैले फेरबदल भइरहन्छ ।

उहाँले भन्नुभयो, “पूँजीबजार कहिले घट्ने त कहिले बढ्ने हुन्छ ।” लगानीकर्तालाई आकर्षित गर्ने बजारसम्म पुग्दा लगानी कर्ताहरु नै निष्क्रिय हुने गरेको उहाँको भनाइ छ । आफूसँग भएको थोरै–थोरै पूँजीबाट बजारमा लगानी गर्ने र त्यसको शेयर बिक्री गरी पुँजी निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, दोस्रो बजारमा शेयर लगानी गरी आयआर्जन गर्ने, लगानीकर्ताको संख्या पनि यो क्षेत्रमा ठूलो रहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँले थप्नुभयो, “नेपालको शेयर बजार इतिहासमा छोटो समयमा भएको वृद्धिले लगानीकर्ताको यसमा आकर्षण बढेको छ ।” आफ्नो पारिवारिक दायित्व पूरा गर्दै फुर्सदको समयमा शेयरमा कारोबार गरी आर्थिक उन्नतिमा साझेदार बन्न सक्नु महिलाका लागि गौरवको विषय रहेको उहाँको बुझाइ छ ।

शेयर बजारमा महिलाहरू सङ्ख्यात्मक मात्रै होइन, गुणात्मक रूपमा बढेको देखिएको छ । उहाँले भन्नुभयो, “शेयर बजारमा अहिले पनि महिलाको सङ्ख्या पुरुषको तुलनामा कम छ, यद्यपि अहिले ‘बुल मार्केट’ मा प्रवेश गरी ‘बियर मार्केट’ मा पुग्दा शेयर बजारबाट पलायन हुने सिजनल लगानीकर्तामा पनि महिलाकै सङ्ख्या बढी छ ।” शेयर बजारमा सधैँ एकनासको कमाइ नभए पनि लकडाउनजस्ता कारणले महिला र पुरुष दुवैका लागि आकर्षणको क्षेत्र बनेको उहाँले बताउनुभयो ।

आर्थिक गतिविधिमा पुरुषको बढी सहभागिता हुने नेपालमा महिलाहरूले नेपाली शेयर बजारमा सङ्ख्यात्मक मात्र नभइ गुणात्मक रूपमा आफूलाई स्थापित गर्दै जानु सकारात्मक कुरा रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “शेयर बजारले महिलालाई पैसा मात्रै चिन्न सिकाएको छैन, आर्थिक व्यवस्थापन, वित्तीय चेतनालगायत विषयमा जानकार हुने मौका पनि दिएको छ ।” सरकारले हरेक आर्थिक वर्षका लागि ल्याउने बजेटमा बैंक, मौद्रिक नीति, शेयर बजारसँग सम्बन्धित निकायले शेयर बजारलाई प्रभाव पार्ने गरेको उहाँको भनाइ छ ।

राष्ट्र बैंकले गर्ने नीतिगत सुधार तथा परिवर्तन, बैंक, वित्तीय संस्थाका सम्बन्धमा शेयरलगायतका कार्यले शेयर बजारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पार्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै कुराको अध्ययन गर्ने, नजानेको कुराहरूमा छलफल गर्ने, आफूसँगै भएको स–सानो पूँजी लगानी गर्ने र फुर्सदको समयलाई सदुपयोग गरी आत्मनिर्भर हुन सकिने शेयरमा शहरी क्षेत्रका महिलाको सहभागिता बढ्दो क्रममा छ ।” ग्रामीण क्षेत्रका महिला भने अझै यस क्षेत्रमा आकर्षित हुने मौका नपाएको उहाँले बताउनुभयो ।

पोखरेलले भन्नुभयो, “ससाना पूुँजीहरू एकत्रित गर्दै लगानी गरी देश विकास र जनताको जीवनस्तर सुधार्न सकिन्छ ।” महिलाहरू आर्थिक पक्षमा जानकार भएका मात्रै होइनन्, राम्रो वित्तीय शिक्षासमेत शेयर बजारबाट प्राप्त गरिरहेको उहाँको बुझाइ छ । शेयर बजार पुँजी निर्माणको महत्वपूर्ण आधार हो । विदेशीमा जाने रुपियाँ पनि यो क्षेत्रमा लगानी गरी आय आर्जन गर्न सकिनेमा उहाँ आफू ढुक्क रहेको बताउनुभयो । शेयर बजारमा लागेर अहिले महिलाहरू आर्थिक उन्नतिको साझेदार बन्न सफल भइरहेको उहाँको भनाइ छ ।

नेपालमा ४३ लाख ४६ हजार ९२३ वटा शेयर खाता छन् । तीमध्ये १८ लाख ३६ हजार ९४८ वटा डिम्याट खाता महिलाको नाममा छ । कुल डिम्याट खातामा महिलाको खाता ४२ प्रतिशत, कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत महिलाको सहभागिता रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका आइटी विभाग प्रमुख सुरेश न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष ३८.६ प्रतिशत रहेको खाता बढेर यो आर्थिक वर्षमा ४१.८२ प्रतिशतमा वृद्धि भएको उहाँले बताउनुभयो । दुई महिनाको अवधिमा यो सङ्ख्या बढेर ४२ प्रतिशतसम्म पुगेको पनि उहाँले जानकारी दिनुभयो । “अहिले महिला आफैं सक्षम छन्, सक्षम हुनु आजको आवश्यकता हो” उहाँले भन्नुभयो ।स्रोत: गोरखापत्र अनलाइन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *