logo

काठमाडौँ, असोज १ गते । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले असोज १ गते शुक्रबारदेखि सुुपथ मूल्य पसल सञ्चालन गर्दै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुुग्ध विकास संस्थान (डीडीसी)ले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा खाद्य वस्तुमा दुईदेखि १० रुपियाँसम्म छुटमा बिक्री गर्ने भएको हो ।
सरकारले हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । वाणिज्य मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वमा सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नुनमा प्रतिकेजी दुई रुपियाँ, चामलमा प्रतिकेजी पाँच, गेडागुडी र खसीबोका जिउँदोको प्रतिकेजी १० रुपियाँ छुट दिइनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत छुटमा सामान बिक्री गरिनेछ । सुपथ मूल्य पसलमा दुई कम्पनीले आफ्ना व्यापारिक वस्तु बिक्री गर्नेछन् । यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि घिउ, पनिरलगायतका उत्पादन सुपथ पसलमा राख्ने तयारी गरेको छ । दशैँमा अत्यावश्यक वस्तुमा छुट दिन मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपियाँ छुट्याएको छ ।
खाद्य कम्पनीले उपत्यका चार स्थान र उपत्यकाबाहिर ३९ गरी ४३ स्थानमा सुुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिनुुभयो ।
यसैबीच दशैँलाई लक्षित गरेर खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुुई हजार खसीबोका गरी तीन हजार खरिद गर्ने प्रक्रिया सुुरु गरेको जनाएको छ । कम्पनीले चामल, चिउरा, दाल, आँटा, गेडागुडीमा प्रतिकेजी पाँच रुपियाँ र जिउँदो खसीबोका प्रतिकेजी र भटमासको तेलमा प्रतिलिटरमा १० रुपियाँ छुुट दिनेछ ।
कर्पोरेसनले उपत्यकामा तीन मोबाइल भ्यानसहित नौ स्थान र उपत्यकाबाहिर २३ गरी ३२ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कर्पोरेसनले नुनमा प्रतिकेजीमा दुुई रुपियाँ छुुट गरेर १८ रुपियाँ र चिनी प्रतिकेजीमा पाँच रुपियाँ छुुट गरेर ७९ रुपियाँमा बिक्री गर्नेछ । कर्पोरेसनका उपमहानिर्देशक कुुमार राजभण्डारीले लगभग चिनी दुुई सय मेट्रिक टन मात्रै मौज्दात भएकाले प्रतिव्यक्ति दुुई केजी दिइने जानकारी दिनुुभयो ।स्रोत: गोरखापत्र अनलाइन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *