काठमाडौं : सरकारले किसानलाई वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकले १० कट्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कट्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए।

