काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रूपमा काजमा पठाइएको हो । सर्वोच्च अदालतले अध्यक्ष कार्कीको काज सरुवाको निर्णय भने सार्वजनिक गरिसकेको छैन । तर उनले शुक्रबार काज सरुवाको जानकारी पाएको पुष्टि गरे । ‘विस्तारै जाने तयारी भइरहेको छ,’ उनले भने । विशेष अदालतको अध्यक्ष भएको ८ महिनामै कार्कीको काज सरुवा भएको हो ।
मुद्दा चलेको डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले त्यही दिन धरौटीमा छाड्ने आदेश दिएको थियो । सर्वोच्च अदालतका एक अधिकारीका अनुसार अध्यक्ष कार्कीको इजलासले गच्छदारका विषयमा गरेको आदेश प्रधानन्यायाधीश जबराले चित्त बुझाएका थिएनन् ।
‘काज सरुवाको एक कारण त्यो पनि हुन सक्छ । डेढ वर्षदेखि फरार हुनुहुन्थ्यो तर कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट नै हाजिर हुन आउनुभयो । उहाँ पार्टीमा उपसभापति पनि हुनुहुन्छ,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘उहाँलाई त्यसरी छोड्ने ? भन्ने पनि लागेको हुन सक्छ ।’ देउवा सरकारप्रति अदालत नरम भएको हो कि भन्ने सन्देश गएकाले र उक्त आदेशले अदालतको आलोचना भएको भन्दै प्रधानन्यायाधीश जबरा असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।आजको कान्तिपुर बाट ।

