यामिना पार्टीका नेता नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । उनले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण पनि गरिसकेका छन् ।

बेनेटले आइतबार इजरायली संसदमा भएको मतदानमा विश्वासको मत प्राप्त गरेका थिए।
१२ वर्षदेखि इजरायली सत्तामा निरन्तर रहेका बेन्यामिन नेतान्याहु अब विपक्षमा पुगेका छन् ।
नेतान्याहु इजरायलमा सबैभन्दा बढी सरकार चलाउने प्रधानमन्त्री हुन् । उनी ५ पटक इजरायलको प्रधानमन्त्री बने । उनी पहिलो पटक सन् १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनले सन् २००९ देखि २०२१ सम्म लगातार सरकारको नेतृत्वमा थिए ।
बेनेटले नेतान्याहुलाई एक भोटले हराए । बेनेटको विपक्षी गठबन्धनले ६० भोट प्राप्त गर्दा नेतान्याहुले ५९ भोट प्राप्त गरे । नेतान्याहु सरकारमा नरहे पनि दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख र इजरायली संसदमा प्रमुख प्रतिपक्षी नेताको भूमिकामा हुनेछन् ।

