जनकपुरधाम : पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश २ सरकारले एक/एक लाख रुपैयाँ दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री राम सरोज यादवले शनिबार मृतकका परिवारलाई भेटेर राहत दिने घोषणा गरेका हुन्। घटनास्थल मुखियापट्टी मुसरह्निया गाउँपालिका मन्त्री यादवको निर्वाचन क्षेत्र भएकोले आफै पोष्टमार्टम रिपोर्ट बुझ्न गएका थिए ।

शुक्रबार धनुषाको मुखियापट्टी मुसरह्निया गाउंपालिका ६ लक्ष्मीपुर गाउँमा पोखरीमा नुहाउन गएका स्थानीय पाँच जना बालिकाको डुबेर मृत्यु भएको थियो । पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र भगतको १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगीर पुर्वेको १३ वर्षीया छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरको १२ वर्षीया नातिनी चान्दनी ठाकुर र उत्तिम साहको १२ वर्षीया छोरी ललिता साहको मृत्यु भएको थियो ।

