अमेरिकाले युद्ध-हिंसा अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथि दबाब बढाएको छ ।

महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल र प्यालेस्टाइनबीचको हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायलमाथि दबाब बढाएको छ ।
इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट हुन सक्ने चुनौतिमा आत्मरक्षाको अधिकार रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आक्रमण कम गर्न भनेका हुन् ।
बाइडेनको चाहना युद्धविरामका लागि मार्ग प्रशस्त होस् भन्ने रहेको र त्यसका लागि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई आक्रमण ठूलो स्तरमा कम गर्न भनेको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकाले इजारायल–प्यालेस्टाइनबीच जारी हिंसाको विरोध गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले जारी गर्न खोजेको संयुक्त वक्तव्य रोकेको थियो । यस्तो वक्तव्यले पर्दा पछाडि युद्धविरामका लागि भइरहेको प्रयास भाँडिन सक्ने अमेरिकाको भनाई छ ।
तर बालबालिका, महिला तथा वृद्धवृद्धासहितको ज्यान जाने क्रम बढ्दै गएपछि अमेरिकाले इजरायमाथि दबाब बढाएको हो ।
बाइडेनले हिंसा कम गर्न भने पनि इजारयली प्रधानमन्त्री नेतन्याहूले भने जारी रहने बताएका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता नभएसम्म आक्रमण जारी रहने नेतन्याहूले बताएका छन् ।

