काठमाडौं । विश्वकै धनी मानिस मध्येका एक तथा विश्वको सफल सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको नाम फेरि चर्चामा छ । केही दिन अघि उनी र मेलिंडा गेट्सले आफूहरु अलग हुने घोषणा गरे ।

२७ वर्ष सँगै बसेका उनीहरूको सम्बन्ध विच्छेद भएको खबर निकै चर्चामा रह्यो । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गत वर्ष कम्पनीको बोर्डबाट राजीनामा दिए । राजीनामा दिँदै गर्दा कम्पनी भीत्र उनीमाथि छानविन भइरहेको खबर आइरहेको छ ।

यो छानविन बिल गेट्सको २० वर्ष पुरानो अफेयरको विषयलाई लिएर चलिरहेको थियो । तर त्यही छानविनकै बीच उनी कम्पनीको बोर्डबाट हटे। माइक्रोसफ्टले उनको व्यवहारलाई लिएर केही चिन्ताहरु व्यक्त भइरहेका कारण त्यसमाथि अनुसन्धान सुरु गरिएको पुष्टी गरेको छ ।

कम्पनीको भनाईमा माइक्रोसफ्टले एउटा कानूनी फर्मसँग मिलेर यो मामिलामाथि जाँच सुरु गरेको थियो र गेट्सको व्यवहारलाई लिएर रिपोर्ट गर्ने कर्मचारीलाई पुरा सहयोग उपलब्ध गराइएको थियो ।

यद्यपि बिल गेट्सका प्रवक्ताले यसलाई अस्वीकार गरेका छन् । उनका अनुसार यस विषयसँग बोर्डबाट राजीनामा दिने निर्णयको कुनै सरोकार थिएन । बिल गेट्सले छानबिनकै क्रममा राजीनामा गरे ।

सोमबार, माइक्रोसफ्टका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने – सन् २०१९ को अन्तिम महिनामा कम्पनीमा एउटा उजुरी आएको थियो, जसमा बिल गेट्सले सन् २००० मा कम्पनीकी एक महिला कर्मचारीसँग “अन्तरंग सम्बन्ध सुरु गर्न” आग्रह गरिएको थियो ।

उनले अगाडि भने “बोर्डको समितिले सम्पूर्ण मामलालाई गम्भीरताका साथ लियो र यस विषयमा अनुसन्धान गर्न बाह्य कानुन फर्मको सहायता लिने निर्णय गर्‍यो । अनुसन्धानका दौरान माइक्रोसफ्टले उजुरी दायर गर्ने कर्मचारीलाई पूर्ण सहयोग गरेको थियो ।”

यद्यपि यो अनुसन्धान कुनै पनि निष्कर्षमा पुग्न सकेन । किनकि बिल गेट्सले अनुसन्धान पूरा हुनु अघि नै बोर्डबाट राजीनामा दिए । गत वर्षको मार्चमा, बिल गेट्सले लिंक्डइनमा एक पोस्ट गरेका थिए ।

जसमा उनले यो निर्णय बिल र मेलिंडा गेट्स फाउन्डेसनमार्फत आफ्नो परोपकार कार्यमा बढी समय लगाउन राजीनामाको निर्णय लिएको बताएका थिए । बोर्डमा पुनः निर्वाचित भएको तीन महिनापछि उनको यस्तो पोस्ट आएको थियो ।

त्यस समयमा उनले लेखेका थिए, “माइक्रोसफ्टको बोर्डबाट हट्नुको अर्थ कुनै पनि हालतमा कम्पनीबाट टाढा जानु होइन । माइक्रोसफ्ट सधैं मेरो जीवनको महत्त्वपूर्ण हिस्सा हुनेछ ।”

“म कम्पनीको प्रगतिमा निकै आशावादी छु र यो निरन्तर संसारलाई लाभ पुर्‍याउने काममा अग्रसर भइरहनेछ ।” बिल गेट्सले सामाजिक काममा बढी ध्यान दिन चाहेको भन्दै कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिए ।

यद्यपि उनले यो पनि भनेका थिए कि कम्पनी उनका लागि सँधै महत्वपूर्ण रहने र आफूले वर्तमान सीईओ सत्य नाडेला र अन्य अधिकारीहरूको सल्लाहकारको रूपमा काम गरिरहने छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *