स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले कसैले पनि पहिलो डोज नलगाउन निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीहरुलाई पनि यसअघि पहिलो डोज खोप लगाउन छुटेको भए यसपटक अवसर पाएपनि कसैले पहिलो डोज नलगाउन मन्त्रालयले भनेको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा भनेका छन्, ‘अहिले चलिरहेको खोप अभियान यसअघि पहिलो डोज लिएकाहरुका लागि मात्रै हो। अहिले कसैले पनि पहिलो डोज नलिनुहोला। स्वास्थ्यकर्मीहरुले पनि कसैलाई पहिलो डोज नदिनुहोला । सरकारले दोस्रो डोजको व्यवस्था नगर्न पनि सक्छ।’
यसर्थ सरकारले पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन निर्देशन दिएको हो। मुलुकमा अहिले यसअघि आएका खोप मध्ये मौज्दात रहेको करिव ७ लाख डोज खोप लगाउने काम भइरहेको छ।
मन्त्रालयले अहिले कसैलाई पनि पहिलो डोज खोप नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिएको छ।
नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, भारतबाटै खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्स सुविधा अन्तर्गत आएको ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ।
त्यसमध्ये हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ। बाँकी ७ लाख २८ हजारले दुबै डोज लगाइन सुरु भएको हो।
किन भन्यो सरकारले खोप नदिनुः
विश्वभर अहिले खोपको माग बढी छ। खोपको उत्पादन भन्दा कयौं गुणा यसको माग रहेको छ।
भारतसँग खरिदको सम्झौता भएको खोप पनि पुस अघि निर्यात गर्न नसक्ने बताएको छ। त्यस्तै अन्य मुलुकहरुबाट पनि तत्काल खोप आउने सम्भावना छैन ।
अर्को कोभ्याक्सले पनि खोपको उत्पादन न्युन भएको कारण जनसंख्याको आधारमा उपलब्ध गराउने भनेको २० प्रतिशत खोप उपलब्ध गराउन सक्ने अबस्था छैन। त्यसो त भारतमा कोरोना महामारीको नयाँ लहर शुरु भएपछि भारतीय सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको हो।
सिरम आफैंले कोभ्याक्स र अन्य देशहरुलाई २०२१ को अन्त्यतिरबाट मात्रै खोप निर्यात सुरु हुने अपेक्षा लिएको जनाएको छ।
कोभ्याक्सले सिरमसँग १४ करोड डोज खोप किन्ने सम्झौता गरेको थियो। नेपालले जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्सबाट प्राप्त गर्ने थियो। तर, अहिलेको खोपको संकटको कारण यो सबै पर धकेलिएको छ।

