वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन्।

उनी दुई साता अघि कोभिड अस्पताल उदघाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । उपमेयर कार्कीको बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिस्र्चाज गरिएको छ।
९१ वर्षीया कार्कीको वीरगन्ज महानगरपालिकाले नै संचालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको थियो ।
उपमेयर कार्कीलाई लिन मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकिय अधिकृत प्रदीप निरौला कोभिड अस्पताल पुगेका थिए। मयेर सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेमा बधाई दिएका छन्।
मेयर सरावगीले कोरोनाबाट डराएर होइन, डटेर पररास्त गर्न सकिन्छ, यसको जीवन्त उदाहरण उप–प्रमुख शान्ति दिदी हुनुहुन्छ भन्दै सामाजिक संजालमार्फत बधाई दिएका छन्।
उनले लेखेका छन्, ‘दिदी अहिले ९१ बर्षको हुनुहुन्छ र केही दिन अगाडि उहाँ कोरोना भाइरस चपेटामा पर्नु भएको थियो । उहाँको उपचार महानगरले नै संचालन गरेको अस्पतालमा मैले नै पहिलो बिरामीको रुपमा स्वागत गरेको थिए। आज उहाँले आफ्नो दृढ इच्छाशक्ति, उच्च मनोबल र अस्पतालका चिकित्सकहरुको मेहनतका कारणले कोरोनालाई पररास्त गर्नु भएको छ। आज उहाँलाई सकुशल अस्पतालबाट बिदाइ गर्दा हर्षित महसुस गरेको छ।’

