इजरायली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ।
सेनाको एउटा वक्तव्यमा हवाई र स्थल फौजहरूले उक्त क्षेत्रमा रहेका निशानाहरूमा नयाँ कारबाही गरिरहेको जनाएको छ।

उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको छ।
भिडिओ फुटेजमा विस्फोटनले गाजाको आकासमा बिजुली चम्किएको जस्तो देखिएको थियो ।त्यहाँ ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १ सय नाघेको छ।

प्यालेस्टाइनले गरेको रकेट हमलामा इजरायलमा सातजनाले ज्यान गुमाएका छन्।

लडाइँ रोक्न गरिएका कूटनीतिक अनुरोधले हालसम्म कुनै प्रभाव पारेको छैन।अमेरिकाले कूटनीतिक प्रयासलाई केही समय दिन आफूले चाहेको भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक अर्को हप्तासम्म सारेको छ।

थप ट्याङ‍क र फौज

इजरायलले गाजासँगको आफ्नो सीमामा थप ट्याङ्क र फौजहरू परिचालन गरेको छ।
केही दिनयताको हिंसापछि उसले स्थल कारबाहीको विचार गरिरहेको जनाइएको छ।

स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै बिहीबार खटाइएको छ।आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ हजार सैनिकलाई काममा बोलाइएको छ।स्थल सेना परिचालन गर्ने निर्णय भने गरिसकेको छैन।

तर इजरायली सेनाले सम्भावित कारबाहीको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ,जसबारे सेनाका प्रमुख र सरकारका विभिन्न तहहरूले निर्णय गर्नुपर्ने हुन्छ।

चर्को हिंसा

गाजा र इजरायलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब हो।

यहुदी र मुसलमान दुवैले पवित्र धार्मिक स्थलको रूपमा सम्मान व्यक्त गर्ने पूर्वी जेरूसेलममा हप्तौँका तनावपछि झडपहरू भएका थिए।

त्यसपछि प्यालेस्टाइन र इजरायलले एक अर्का विरूद्ध हवाई हमलाहरू थालेका हुन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यहुदी र अरब इजरायलीबीच सडकमा भइरहेका हिंसालाई दबाउन उनकै शब्दमा अत्यधिक बल प्रयोग गर्न तयार रहन प्रहरीलाई भनेका छन्।

जातीय हिंसाको केन्द्रमा रहेको नगर लोडमा उनी बोल्दै थिए।

यहुदी र अरबहरूको मिश्रित बसोबास रहेका इजरायलका विभिन्न नगर र सहरहरूमा थप हिंसा भएका विवरण आएका छन्।

पछिल्लो हिंसाले गृहयुद्ध निम्त्याउने चेतावनी इजरायलका राष्ट्रपतिले दिएका छन्।

रक्षामन्त्री बेनी गान्ट्सले देशभित्रको आन्तरिक तनावलाई दबाउन ठूलो मात्रामा थप सुरक्षाकर्मी खटाएका छन्।

जातीय हिंसापछि चार सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ।

हमासका एक जना उच्च अधिकारीले अन्तर्राष्ट्रिय समुदायले इजरायललाई जेरुसेलमको अल अक्सा मस्जिदमा आफ्नो फौजी गतिविधि अन्त्य गर्न दबाब दिए जवाफी युद्ध विराम हुनसक्ने बताएका छन्।

तर इजरायली सेनाका एक जना प्रवक्ताले अहिले इजरायलले युद्ध विराम नखोजिरहेको बताएको द टाइम्स अफ इजरायलले जनाएको छ।
बीबीसी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *