जेरुसेलम: इजरायलले प्यालेस्टाइनमाथि बमबारीको क्रम सुरु गरेपछि गाजा क्षेत्रमा कम्तिमा १३९ जना मारिएका छन् भने ९५० जना घाइते भएका छन् ।मृत्यु हुनेमध्ये ४० जना बालबालिका रहेका छन् ।

गत सोमबारदेखि इजरायलले प्यालेस्टाइनमाथि निरन्तर हवाई आक्रमण गरिरहेको छ । शनिबार मात्र इजरायली हमलाबाट ८ बालबालिकासहित १० जना मारिएका छन् । गत साता इजरायलमाथि हमासले रकेट आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रको मानव बस्तीमा नियमित हवाई आक्रमण गरेको हो ।
शनिबारको आक्रमण गाजा क्षेत्रमा रहेका शरणार्थी शिविरप्रति लक्षित रहेको बताइएको छ । जहाँ १० जनाको मृत्युका साथै १५ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्यालेस्टाइनी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्ने अवस्था छ ।
इजरायलको आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायबाट निन्दा भइरहेको छ। साथै यसलाई नरसंहारको रूपमा विरोध गरिएको छ । इजरायलले आक्रमण तीब्र बनाएपछि गाजा क्षेत्रका दस हजारभन्दा धेरै मानिसहरू घर छाडेर सुरक्षति स्थानतर्फ भागेका छन् ।

