काठमाडौँ — सन् २००१ मा अमेरिकामा अलकायदा समूहले आतंकवादी हमला गरेपछि ओसामा बिन लादेनलाई खोजी गरी मार्न अमेरिकी फौज अफगानिस्तान छिरेको थियो । तर लादेनलाई सफाया गर्न अमेरिकालाई १० वर्ष लाग्यो । सन् २०११ को मे २ मा सीमावर्ती पाकिस्तानी सहर अबोटाबादमा उनी मारिए । अझै त्यसको १० वर्षसम्म युद्ध जारी रह्यो, अहिले अचानक अमेरिकी सेना फिर्ता भएको छ ।

बरू यसले अमेरिकालाई ४६ वर्षअघिको भियतनाम घटना स्मरण गराएको छ । सन् ५० को दशकमा उत्तर र दक्षिण भियतनामबीच सुरू भएको युद्धमा प्रवेश गरेको अमेरिकाले दुई दशकको लडाइँमा आफ्ना करिब ५० हजार सैनिक गुमाएको थियो । युद्धका नाममा भएको भ्रष्टाचार र युवा सैनिकको सहादतका विषयमा मिडियामा समाचार आउन थालेपछि अमेरिकी जनता नै युद्धको विरोधमा उत्रिएका थिए । युद्ध जित्न नसकेपछि अमेरिका बीचमै फर्किएको थियो । त्यही बेला साइगोन (हाल: हो चि मिन्ह सिटी) स्थित अमेरिकी बेस क्याम्पबाट अमेरिकी सेनाको उद्धार गरिएको थियो ।
आइतबार पनि काबुलबाट अमेरिकी सेनालाई हेलिकप्टरले त्यसैगरी उद्धार गरेर लगेको छ । त्यसैले सीएएनलगायत अमेरिकी मिडियाले भनेका छन्, साइगोन फेरि काबुलमा दोहोरियो, अर्को २० वर्षमा भएको सैनिकको सहादत र आर्थिक क्षति खेर गयो ।
ब्राउन युनिभर्सिटीअन्तर्गतको वाट्सन इन्स्टिच्युटले निकालेको ‘कस्ट अफ वार प्रोजेक्ट’ को तथ्यांकअनुसार अमेरिकाले २० वर्षअघि सुरू गरेको युद्धमा २ लाख ४१ हजारले जीवन गुमाए, त्यसमा ७८ हजार ३ सय १४ अफगान सैनिक, ८४ हजार १ सय ९१ तालिवान लडाकु, ७१ हजार ३ सय ४४ सर्वसाधारण र २ हजार ४ सय ४२ अमेरिकी छन् ।
रिपोर्टअनुसार अमेरिका र नाटोले २.२६ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेका छन् । अमेरिका एक्लैले मात्र १ सय ४० बिलियन अमेरिकी डलर खर्च गरेको छ । त्यो भनेको नेपालको करिब १० वर्षको बजेट बराबर हो । तर, यति ठूलो जनधनको क्षतिपछि उपलब्धि के भयो ? तालिवान फेरि काबुलको सत्तामा पुनःस्थापित भएको छ ।स्रोत: कान्तिपुर ।

