काठमाडौँ, पुस ५ गते । सरकार गठनका लागि दलहरूबीच विभिन्न प्रयास भइरहँदा सत्ता गठबन्धनमा रहेका दुई दलका अध्यक्ष भने अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा देखिनुभएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा देखिनुभएको हो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सोमबार चितवनमा आयोजित कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नभएको र गठबन्धनकै निरन्तरताको पक्षमा रहेको स्पष्ट पार्नुभयो। उता नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनकै निरन्तरताको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो।

प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा सोमबार भरतपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी सरकार वाम–लोकतान्त्रिक गठबन्धनकै हुनेगरी छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले आफू प्रधानमन्त्रीको रेसमा छु भन्ने बाहिर आएको हल्ला गलत भएको तर प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न प्रस्ताव आयो भने जिम्मेवारी लिन तयार रहेको बताउनुभयो। सरकार निर्माणका लागि दलहरूसँग संवाद भइरहे पनि अहिलेको गठबन्धन दलहरूकै सरकार बन्ने दाबी गर्नुभयो।

नेकपा (एमाले)सँग सबै दलको कुरा हुँदैमा टुङ्गो भो भन्ने सोच्न नहुने बताउँदै आफू गठबन्धनमा रहेको र गठबन्धन नै अगाडि बढ्ने कुराको विश्वास लिएको बताउनुभयो। सरकार बनाउँदै गर्दा आलोपालो नेतृत्व गर्ने भन्ने सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवासँग अनौपचारिक छलफल भएको पनि उहाँले जनाउनुभयो। नेपालले नयाँ सरकार बनाउने विषयमा आफूहरू गठबन्धनभन्दा दायाँबायाँ नलाग्ने बताउनुभयो। अहिलेको अवस्थामा गठबन्धनलाई त्यागेर अरूतिर लागे आफूहरू घर न घाटको हुने भन्दै उहाँले वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा रहेको स्पष्ट पार्नुभयो।

नेकपा एसबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभाका सांसदहरूलाई सोमबार बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा चर्चा परिचर्चा हुनु स्वाभाविक रहेको बताउँदै गठबन्धनभन्दा दायाँबायाँ लागे आफूहरू समस्यामा पर्ने बताउनुभयो। उहाँले अहिले वामपन्थी मात्रैको र गैरवामपन्थी मात्रैको सरकार बन्ने सम्भावना तत्कालका लागि सम्भव नरहेको व्यक्त गर्नुभयो।  कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको बताउनुभयो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *