vote

कास्की, कात्तिक २४ गते । गण्डकी प्रदेशमा प्रमुख राजनीतिक पार्टीका १५ जना उम्मेदवारले आफैँलाई मत हाल्न पाउने छैनन्। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेकाले मत हाल्न नपाउने भएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि चितवनबाट उम्मेदवारी दिनुभएको थियो। अहिले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ।

त्यस्तै माओवादी केन्द्रका अर्का नेता एवं सङ्घीय सरकारका शिक्षामन्त्री देवेन्द्र पौडेल पनि बागलुङ–२ बाट उम्मेदवार हुनुहुन्छ। बागलुङ नगरपालिका–१२ अमलाचौरका पौडेलको निर्वाचन क्षेत्र १ भए पनि बागलुङ–२ मा नेकपा एमालेकी मञ्जु शर्मा चालिसेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि आफैँलाई मत हाल्न पाउनुहुने छैन। उहाँ स्याङ्जा–२ बाट चुनावी मैदानमा आउनुभएको छ। उहाँको मतदाता रहेको क्षेत्र भने फरक हो।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ–१ बाट चुनावी मैदानमा हुनुहुन्छ। उहाँले यसअघि नै बागलुङबाट मतदान केन्द्र रुपन्देही सारेको हुँदा आफैँलाई मत दिनबाट वञ्चित हुनुपरेको छ। तनहुँ–२ कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पनि आफैँलाई मत हाल्न पाउनुहुन्न। उहाँ मतदाता क्षेत्र रहेको तनहुँ क्षेत्र नं. १ हो। त्यो क्षेत्रबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उठ्नुभएको छ।

कास्की–२ मा सत्ता गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले पनि आफैँलाई मत हाल्न पाउनुहुने छैन। सत्ता गठबन्धनमा सिट बाँडफाँटका क्रममा कास्की–१ कांग्रेस र कास्की–२ नेकपा (एकीकृत समाजवादी)को भाग परेको छ। बराल नेकपा एसबाट उम्मेदवार बन्नुभएको हो। सत्ता गठबन्धनको तर्फबाट कास्की–१ प्रदेश (क)का उम्मेदवार दीपक कोइरालाले पनि आफूलाई मत हाल्न पाउनुहुन्न। कास्की–१ (ख)का स्थायीवासी कोइराला अहिले १ को (क)मा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

कास्की–३ (क)मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका दुर्गादत्त भण्डारी पनि आफैँलाई मत हाल्न नपाउने उम्मेदवारमध्ये एक हुनुहुन्छ। माओवादीबाटै कास्की–२ (क)का उम्मेदवार विश्वप्रकाश लामिछानेले पनि आफैँलाई मत हाल्न पाउनुहुन्न। माओवादीबाट गोरखा–१ (क)का उम्मेदवार कृष्णप्रसाद धितालले पनि क्षेत्र सारेसँगै आफैँलाई मत हाल्नुहुँदैन।

तनहुँमा माओवादी नेता तथा गण्डकी प्रदेशका पूर्वकानुनमन्त्री हरिबहादुर चुमानसँग प्रतिस्पर्धा गरिरहन्भएका एमालेका पूर्ण गुरुङ पनि आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुनुहुन्छ। उहाँहरू तनहुँ–१ (ख)बाट उम्मेदवार हुनुहुन्छ।

गोरखा–२ (क)का मतादाता सुरेन्द्रराज पाण्डेले पनि आफैँलाई मत हाल्न पाउनुहुने छैन। उहाँ निर्वाचनमा गोरखा–२ (ख)बाट उम्मेदवार बन्नुभएको छ। त्यस्तै स्याङ्जा–२ (क)का उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामचन्द्र भट्टराई, बागलुङ–२ (क)का उम्मेदवार कांग्रेसका जित शेरचन, नेकपा एसबाट नवलपुर–२ (ख)का उम्मेदवार गोपाल खनालले पनि आफैँलाई मत हाल्न पाउनुहुने छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *