काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी)ले सोमबारबाट देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइतबार बसेको सिसिएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा बसेको हो। बैठकले सीमानाकामा कोरोना परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने, भीडभाड हुने सार्वजनिक स्थलमा एन्टिजेन बुथ राख्ने निर्णय पनि गरेको छ।
यसै गरी बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको सिसिएमसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

