काठमाडौं : आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

कोरोना भाइरस महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मन्त्रालय मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्याबीच दिवस मनाइएको थियो । हाल कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरूपमै कार्यक्रम गर्न लागिएको हो ।
दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्सले रक्तादान कार्यक्रम गर्दै छ।नक्सालस्थित संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तादान गरिने बताइएको छ।
नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर सोमबार नागपोखरीस्थित नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गर्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त नवनिर्मित भवनको उद्घाटन हुने सङ्घले जनाएको छ ।

