युनिसेफका प्रवक्ता जेम्स एल्डरले कोरोनाकालमा विश्वका ५० प्रतिशत देशमा विद्यालय दुई सय दिनसम्म बन्द नै रहेको बताएका छन् । दक्षिण अमेरिकाका १८ देशमा पूर्ण तथा आंशिक रूपमै स्कुल तथा कलेज बन्द भएका छन् । उनका अनुसार पूर्वी तथा दक्षिण अफ्रिकामा पाँचदेखि १८ वर्ष उमेरका ४० प्रतिशत विद्यार्थीले पढ्न पाएका छैनन् ।

यसैगरी, पूर्वी तथा प्रशान्त क्षेत्रका आठ करोड बालबालिका अहिले शिक्षाबाट टाढिएको उनले बताए । युनिसेफको एक प्रतिवेदनमा मार्च २०२० देखि फेब्रुअरी २०२१ सम्म विश्वका १४ देशका ठूला स्कुल पुनः सञ्चालनमा नआउने गरी बन्द भएको उल्लेख छ । युरोपका धेरैजसो देशले लर्निङ पासपोर्ट विधि अपनाएका छन् । यो विधि भनेको विद्यार्थीलाई अनलाइन शिक्षा प्रदान गर्नु हो । युरोपमा लर्निङ पासपोर्ट अध्ययन सञ्चालन गर्न युनिसेफ, क्याम्ब्रिज विश्वविद्यालय तथा माइक्रोसफ्टले कोर्स तयार पारेका छन् । यसमा अनलाइनमा पढ्ने विद्यार्थीलाई उनीहरूले नै सबै कोर्सबुक उपलब्ध गराइरहेका छन् ।स्रोत: नया पत्रिका

