भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ सङ्क्रमित भएका हुन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख आठ हजार ९२० जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ। सङ्क्रमित अवस्थामै रहेकाको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२९ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड १६ लाख १३ हजार ९९३ जना पुगेका छन्। भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड सात लाख ८१ हजार २६३ रहेको छ। तीमध्ये ३७ हजार २९१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्।

एकैदिनमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ। तीमध्ये ५९३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

अधिकारीले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४६ करोड ६४ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४६ करोड १५ लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *