मंगलबार प्रिओपनिङमा उच्च अंकले गिरावट आएको नेप्से परिसूचक कोरोबारको अन्तिममा आएर वृद्धि भएको छ।

राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको निर्देशनमा प्रोभिजनिङको व्यवस्थामा परिवर्तन गर्दै को प्रोभिजनिङको सीमालाई बढाएको थियो। राष्ट्र बैंकले असल कर्जामा पनि प्रोभिजनिङको सीमा बढेपछि शेयर बजारमा प्रभाव पर्ने देखिए पनि खासै असर परेन। आज नेप्से परिसूचक २९.२४ अंकले बढेर ३ हजार ७९.६६ विन्दुमा पुगेको छ।
कारोबारमा आएका २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ। आज हाइड्रोपावरका साथै फाइनान्स कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ ।
हाइड्रोपावर उपसमूहको सूचक ३.७४ प्रतिशतले बढेको छ भने फाइनान्सको २.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ४.७४ प्रतिशतले बढेको छ। तर माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०६ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका १४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन्। मल्टिपर्पस फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।
सपोर्ट माइक्रोफाइनान्स ५.७७ प्रतिशत, सहकार्य लघुवित्तको ४.६८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ४.०६ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.९६ प्रतिशत र समता घरेलु लघुवित्तको ३.८१ प्रतिशतले घटेको छ।
आज एनआइसी एशिया बैंकको सबैभन्दा धेरै ४९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ४८ करोड ३२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

