बेइजिङ : अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उनको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न आग्रह गरेको छ। चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताएका छन्।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले उक्त कुरा बताएका हुन्।
बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन्।
चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार शीले अमेरिकाले आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको दावी गरे।
सोमबार सम्पन्न हुने दुई दिने भ्रमणका क्रममा शर्मनले दुवै दिन चीनको उत्तरपूर्वमा रहेको तियानजिन सहरमा बिताएका छन्। धेरैले अमेरिका–चीनको यो वार्तालाई बाइडन र सी चिनफिङबीच हुन सक्ने भेटको तयारीका रूपमा अर्थ्याएका छन्। -रासस

