काठमाडौं : नेकपा (एमाले)को माधव नेपाल समूहमा भएको बैठकमा सांसदहरूले साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने र अध्यक्ष केपी शर्मा ओलीविनाको पार्टी बनाउन सकिने विचार व्यक्त गरेका छन्।

देउवा सरकारलाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मङ्गलबार गरेको छलफलमा सांसदहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।
केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिनभित्र केन्द्रीय कमिटी र संसदीय दलमा आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए।
‘१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ संचारकर्मीहरुसँग चौधरीले भने ।
चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानुन व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताए । ‘सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्छौं,’ उनले भने, ‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको छ । त्यहाँसम्म पनि जान्छौं ।’
सरकारमा सहभागिताबारे भने कानुनी परामर्श भइरहेको र सरकारमा जाँदा सांसद पद नजाने कुराको ग्यारेन्टी भयो भने मात्रै यस विषयमा निर्णय हुने चौधरीले बताए ।
त्यस्तै, सांसद रामकुमारी झाँक्रीले सरकारमा जानेभन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशील कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइन् । उनले भनिन्, ‘सरकारमा जानेभन्दा पनि पूरा अवधि संसद् क्रियाशील कसरी बनाउने भन्ने बारेमा छलफल भयो ।’
नेपाल पक्षले आफूपक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरु सहितको बैठक भोलि ११ बजे बोलाएको छ। पार्टी विभाजन गर्ने या नगर्ने विषयमा उक्त बैठकबाट निचोड निकालिने बताइएको छ।

