काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मध्यरातदेखि देशभर लगातार वर्षा भइरहेको छ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले शनिबार देशभर हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
शनिबार बिहान प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही यी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही भीषण वर्षाको सम्भावना छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि भीषण वर्षाको सम्भावना रहेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो र नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

