एजेन्सी :
अमेरिका र उत्तर कोरियाबीच तनाव जारी छ । तर आउँदो केही महिना धेरै महत्वपूर्ण सावित हुन सक्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले सत्ता सम्हालेपछि अमेरिका र उत्तर कोरियाको बीच औपचारिक सम्पर्क हुन सकेको छैन । यही बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङको अभिव्यक्ति सार्वजनिक भएको छ । उनका अनुसार उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न र लड्न दुबै तयार छ ।

केही दिन पहिले ह्वाइट हाउसले (बाइडन प्रशासनले )नर्थ कोरियाको लागि नयाँ रणनीति बनाइरहेको बताएको थियो । जुन रणनीति प्राक्टिकल हुने बताइएको थियो । यसअघि नै कुटनैतिक पहलको पूरै मौका मिलिसकेकाले अब व्यवहारिक हुने ह्वाइट हाउसको भनाइ थियो ।
न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार किमले अधिकारीहरुलाई अमेरिकासँग टकराव या बातचीत दुबैका लागि तयार भएर बस्न आदेश दिएका छन् । बाइडन प्रशासनको नयाँ रणनीतिको विषयमा उत्तर कोरियामा निकै चासो बढेको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा उत्तर कोरियाले कयौं पटक अमेरिकामा हमला गर्ने धम्की दिएको थियो । उसो त किम र ट्रम्पबीच भेटवार्तासमेत भएको थियो । तर उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न सो वार्ता असफल बन्यो । अब बाइडन प्रशासनले यस प्रकरणमा नयाँ रणनीतिका साथ डिल गर्न चाहेको समाचारमा उल्लेख छ।

