बैंक तथा वित्तीय संस्थाहरुले असार १ गतेदेखि आवश्यकता अनुसार शाखा कार्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यसअघिसम्म गरिएका निर्देशन सोमबार खारेज गर्दै आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै वैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज भएको उल्लेख गरेको छ। यसअघिको सो प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय कार्यालय बाहेक उपत्यकाका ३ जिल्ला ५ वटा शाखा र उपत्यका बाहिर स्थानिय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गरिरहेका थिए।
सिमित शाखाबाट मात्र सेवा दिँदा ग्राहकको भिड बढ्न गएको हुँदा कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए।
उनका अनुसार सिमित शाखा खुल्ला गरी सेवा दिँदा ग्राहकहरुको भिड अत्याधिक हुने देखिएकाले असार १ गतेबाट आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाले आलोपालोमा न्यूनतम शाखा सञ्चालन गरी सेवा दिन सक्ने भएका छन्। बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्न स्थानिय प्रशासनसँग समन्यव गरी सञ्चालन गर्नु पर्नेछ।
जारी सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्दा जनशक्ति तथा सेवाग्राहीमा संक्रमण जोखिम न्यूनिकरणको आवश्यक उपायहरु अबलम्वन गर्नु पर्नेछ। व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनु पर्नेछ।

