एजेन्सी:
म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसाङ सुकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) दल खारेज हुने भएकाे छ।

म्यानमार नाउ समाचार एजेन्सीका अनुसार जुन्ता सरकारले गठन गरेको निर्वाचन आयोगले उक्त दल खारेज गर्न लागेकाे हाे।
गत नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली भएकाे भन्दै आयोगले उक्त निर्णय गरेको हो। एनएलडी दलको निर्वाचन घोषणापत्र झूठो भएको भन्दै दल दर्ता खारेज गर्नुपर्ने आयाेगले ठहर गरेको छ।यद्यपि, आयाेगकाे बैठकमा अन्य दलहरू भने सहभागी थिएनन्।
‘एनएलडीले नोभेम्बरमा भएको निर्वाचनमा गरेको जालसाजी गैरकानुनी थियो। त्यसैले पार्टीको दर्ता खारेज गर्नुपर्नेछ,’ आयोगका अध्यक्ष थिन सोलाईले भने,‘ चुनावी भ्रष्टाचार गरेका जनतालाई देशद्रोही ठानिने छ र उनीहरूविरुद्ध कारबाही गरिनेछ।’
चुनावमा धाँधली भएको भन्दै गत फेब्रुअरी १ मा म्यानमारको जुन्ता सरकारले सत्ता आफ्नो हातमा लिएको थियो। सुरक्षाकर्मीले म्यानमार हिंसामा ८०० भन्दा बढीको हत्या गरेको छ।
सन् १९८८ मा विद्यार्थी नेतृत्वको विद्रोहको क्रममा सेनाकाे विपक्षी दलको रुपमा एनएलडी गठन भएको थियो र यसले प्रत्येक चुनावमा विजयी हासिल गर्दै आएकाे थियाे।
तानाशाहीविरुद्ध पार्टीले १९९० को चुनावमा बहुमत सिट हात पारेकाे थियाे तर सेनाले उक्त जितलाई मान्यता दिएन। यद्यपि, २०१५ एनएलडी ठूलो जितसहित सत्तामा आएकाे थियाे।

