इजरेलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका छन्।

त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे पनि इजरेलले कारबाही जारी राखेको छ।
मङ्गलबार दक्षिण इजरेलमा प्यालेस्टिनी विद्रोहीहरूले रकेट प्रहार गर्दा दुई विदेशी कृषि श्रमिक मारिएका छन्।
इजरेलले गाजामा हवाई हमला जारी राखेको छ। वेस्ट ब्याङ्कमा रमल्लाह नजिकै भएको प्रदर्शनका बेला इजरेली प्रहरीसँगको झडपमा परी कम्तीमा तीनजना प्यालेस्टिनी मारिएका छन्।
सङ्घर्षविराम गराउन थालिएका कूटनीतिक पहलहरू सफल हुन सकेका छैनन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा फ्रान्सले इजिप्ट तथा जोर्डनसँग मिलेर युद्धविरामका निम्ति एउटा मस्यौदा प्रस्ताव दर्ता गराएको छ।
मङ्गलबार गाजामा सहायता सामग्री ढुवानी गर्न दिन इजरेलले केही क्षण सिमाना खोलिदिएको थियो।तर प्यालेस्टीनी विद्रोहीको रकेट र मोर्टर आक्रमण भएपछि सिमाना फेरि बन्द गरिएको छ।
प्रधानमन्त्री नेतान्याहुका अनुसार गाजाको नियन्त्रण गर्दै आएको हमास समूहले अनपेक्षित प्रहार खेपिरहेको छ।सबै इजरेली जनताका निम्ति शान्ति बहाल नभएसम्म कारबाही जारी रहने उनले बताए।
हालसम्म गाजामा १०० महिला र बालबालिकासहित २१५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरेलमा दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ।
इजरेलका अनुसार गाजामा मारिनेमध्ये १५० जना विद्रोही हुन्। हमासले लडाकुको हताहतीको आँकडा दिँदैन।
अधिनस्थ वेस्ट ब्याङ्क तथा पूर्वी जेरुसलेममा कैयौँ प्यालेस्टिनीले गाजामा इजरेलको बमबारीको विरोधमा आयोजित आमहडतालमा सहभागिता जनाए।इजरेली अरब समुदाय बहुल बसोबास रहेको इजरेलभित्रको हाइफाजस्ता क्षेत्रमा पनि हडताल भएको थियो।
सार्वजनिक सेवा, स्कूल तथा कैयन् व्यापार-व्यवसाय बन्द रहे। कैयौँ ठाउँमा झडपहरू भएका थिए।
-बीबीसी

