नेकपा (एमाले) स्थायी समितिले बरिष्ठ नेता माधवकुमार नेपाल लगायत ४ नेतामाथि गरेको कारवाही फिर्ता गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको स्थायी समिति बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै ४ नेतामाथि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए। त्यसैगरी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको पनि उनले जानकारी दिए।
बैठकले बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मानमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको छ। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो चुनौति र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारीबारे जानकारी गराएका थिए। बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभाव लगायतका समस्या सम्बोधन गर्न राज्यको सम्पूर्ण क्षमता र सम्पूर्ण कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ।
यसैबीच नेता ज्ञवालीले पार्टी २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कने सम्भावना भने नरहेको संकेत गरेका छन्। पार्टीकै नेपाल खनाल पक्षले पार्टी एकता र सहमति अनुसार चल्ने हो भने २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कनु पर्ने अडानका बारेमा बैठकले केही निर्णय गर्यो भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेता ज्ञवालीले प्रतिकूल अवस्थामा नेतृत्वका पक्षमा दृढतापूर्वक उभिएका पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुको योगदानको अवमूल्यन गर्ने खालको निर्णय नहुने बताएका हुन्। तर अन्य विषयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने अख्तियारी भने अध्यक्षलाई दिइएको उनले जानकारी दिए। उनले नेतृत्वले पार्टी एकता र पार्टीको वृहतर हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताए।
नेपाल खनाल समूहका सांसदहरुले राजीनामा गरेर सरकार गठनको प्रक्रियालाई कुनै पनि असर नगर्ने पनि उनले उल्लेख गरे। उनले नेपाल खनाल समूहले विगतमा पनि दलको अध्यक्षलाई पदबाट, साधारण सदस्यताबाट पनि बरखास्त गर्ने काम गरेको तथा विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएर विपक्षी दललाई सघाउने काम गरेको उल्लेख गर्दै पार्टी एकताको रक्षाका लागि सकारात्मक ढंगले योगदान गर्न पनि बैठकले आव्हान गरेको बताए। कार्यविभाजन भनेको कुनै पनि बेला परिर्वतन हुने भएकाले पार्टीभित्र फर्किएर नेतृत्वलाई सहयोग गरेको अवस्थामा आवश्यक भूमिका र कार्यविभाजन हुने पनि उनले बताए।

