इजरायली प्रहरीसँग सोमबार भएको झडपको क्रममा कम्तिमा ५० जना प्यालेस्टाइनी प्रदर्शनकारीहरू घाइते भएका छन् ।त्यहाँका मिडियाका अनुसार उनीहरू सबैलाई अस्पताल भर्ना गरिएको छ ।

ऐतिहासिक धार्मिक स्थल “अल अक्स मस्जिद” मा उक्त झडप भएको थियो । जुन मस्जिद इस्लामहरुको तेस्रो ठूलो धार्मिक स्थल मानिन्छ ।
इजरायली प्रहरीले झडपको क्रममा ठूलो सङ्ख्यामा टियर ग्यास र रबरका गोली प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले भने मस्जिदको हाताभित्रबाट ढुङ्गा प्रहार गरेका थिए ।
जेरुसेलममा प्यालेस्टाइनी र इजरायली अधिकारीहरुबीच तनाब भएको केही दिनपछि नै जेरुसेलममा हिंसा सुरु भएको हो । यस क्रममा सयौँ प्यालेस्टाइनी प्रदर्शनकारी र दुई दर्जन जति प्रहरी अधिकृत घाइते भएका छन् ।
यस क्षेत्रलाई यहूदीहरुको सबैभन्दा पवित्र धार्मिक स्थलको रूपमा चिनिन्छ भने इस्लामको तेस्रो ठूलो धार्मिक केन्द्रको रूपमा चिनिन्छ । पछिल्लो केही दिनदेखि बढ्दै गरेको तनाबले इजरायल र प्यालेस्टानबीचको पुरानो युद्धलाई झकझक्याएको छ।

