भारतमा कोरोनाबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ। कोरोना महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाबाट सङ्क्रमित भएका छन्।

योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ। पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन्।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ।

अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।

एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो। स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो।

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे। उनले भने, “आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुन पुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ।”

उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *