गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी प्रभावकारी सावित भएको छ। खासगरी, पछिल्लो समय आइसियु, भेन्टिलेटर वा अक्सिजनको सहायताबाट उपचार गराइरहेका बिरामीका लागि यो थेरापी निकै उपयोगी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।

जटिल प्रकृतिका बिरामीलाई प्लाज्मा थेरापीबाट बचाउन सकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले बताउँछन्। ‘कोभिड–१९ का बिरामीका लागि यो थेरापी अचूक औषधि सावित हुँदे आएको छ। यसले धेरै राम्रो काम गरेको अनुसन्धानबाट पुष्टि भएको छ,’ ज्ञवाली भन्छन्।

नेपालमा हालसम्म १ हजार ३ सय ५१ जनालाई प्लाज्मा थेरापीबाट उपचार गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का सदस्य सचिव डा. ज्ञवालीका अनुसार यसअघि प्लाज्मा थेरापी विधिबाट उपचार गर्न मानिस डराउने गरेका भए पनि पछिल्लो समय नयाँ भेरियन्टको असरसँगै यसको बढी प्रयोग हुन थालेको छ।

‘अस्पतालमा छट्पटाइरहेका संक्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्नसके बचाउन सकिने अनुसन्धानबाट देखिएको छ,’ डा. ज्ञवाली थप्छन्। तथापि, प्लाज्मा दान गर्ने मानिसको अभावले यो पद्धति जटिल बन्दै गएको उनको धारणा छ।

उनका अनुसार पर्याप्त मात्रामा प्लाज्म भए सबैलाई यही विधिबाट उपचार गर्दा फरक पर्दैन। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अनुसन्धानमा रेमडेसिविर र प्लाज्मा थेरापी दुवै एकैसाथ प्रयोगमा ल्याउँदा संक्रमित छिटो मुक्त भएका डा. ज्ञवालीको दाबी छ। कुनै एक विधिभन्दा पनि दुवै एकैसाथ प्रयोगमा ल्याउँदा नतिजा राम्रो आएको उनको जिकिर छ।

जीवाणु वैज्ञानिक डा. सन्तोष दुलालका अनुसार प्लाज्मा थेरापी एक प्रकारको प्यासिभ एन्टीबडी थेरापी हो। प्यासिभ एन्टीबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टीबडी अर्को व्यक्तिलाई दिनुपर्छ।

अन्य रोगमा पनि तत्काल उपचार गर्ने क्रममा यो विधि अपनाइने गरिएको छ। कुनै पनि महामारीबाट निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आइसियुमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई दिइन्छ।

जिवाणु वैज्ञानिक डा.दुलाल पनि प्लाज्मा थेरापी भरपर्दो र प्रभावकारी रहेको दाबी गर्छन्। प्लाज्म थेरापी क्लिनिकल ट्रायलमै रहेका बेला निकै उपयोगी रहेको उनको दाबी छ।

पछिल्लो समय नेपालमा प्लाज्माको माग निकै बढ्दो छ। ‘रगत’मा भएको पानीको मात्रालाई प्लाज्मा भनिन्छ।

रातो रक्तकोष, सेतो  रक्तकोष र प्लेटलेट्सलाई रगतबाट छुट्याएर झिकिने प्लाज्मा जब कुनै व्यक्तिको शरीरमा दिइन्छ, त्यसलाई प्लाज्मा थेरापी भनिन्छ।

प्लाज्मा थेरापीको अर्को नाम प्यासिभ एन्टीबडी थेरापी पनि हो। कोरोना संक्रमित निको भएको दुई साता देखि तीन महिनासम्ममा एक व्यक्तिमा बनिसकेको एन्टीबडी अर्को व्यक्ति दिने प्रक्रियालाई प्यासिभ एन्टीबडी थेरापी अथवा प्लाज्म थेरापी भनिन्छ।

पछिल्लो समय कोरोना नयाँ भेरियन्टका कारण संक्रमण फैलिएपछि गम्भीर बिरामीमा प्लाज्मा थेरापी दिन सकिने अध्ययनले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि प्लाज्मा थेरापी विधि सुरक्षित रहेको निष्कर्ष निकालेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *