बाँके । शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बैजनाथ गाउँपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार मृत्यु भयो । बैशाख १३ गते सामान्य लक्षणसहित कोभिड अस्पताल कोहलपुर पुगेका उनको १४ गते पिसिआर जाँच गरेपछि कोभिड पुष्टि भएको थियो । कोभिड पुष्टि भएको २४ घन्टा नघट्दै चिकित्सकले बुधबार उनको मृत्यु घोषणा गरेका थिए । यसअघि नेपालगंज उपमहानगरपालिका १७ बस्ने ३९ वर्षीया महिलाले पनि पिसिआर रिपोर्ट आएको २४ घण्टा भित्रमा मृत्युवरण गर्न परेको थियो ।

यी दुई घटनामात्र हैन, दाङ उपमहानगरपालिका–७ बस्ने ३१ वर्षीय पुरुषको बैशाख १२ गते पिसिआर जाँचको नतिजा आएपछि भर्ना भएको २४ घन्टाभित्रमा मृत्यु भएको रेकर्डले पुष्टि गर्छ । यी घटनाले बाँकेमा डरलाग्दो गरी कोरोना संक्रमण फैलिरहेको देखिएको छ।
नियन्त्रण नै गर्न नसकिने गरी फैलिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि डाक्टर तथा चिकित्सकहरुले आफ्नो तवरबाट प्रयास गरे पनि उनीहरु विभिन्न मानवीय जनशक्ति र भौतिक संसाधनको समस्यामा परेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।
