काठमाडौँ, नेपाल चिकित्सक संघले अस्पतालहरुमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाई कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।

संघको सोमबार बसेको बैठकले अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भइरहेकोले दरबन्दी तत्काल थप गर्न र अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिएको हो।
यस्तै कोभिड र ननकोभिड बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल तोक्न पनि माग गरेको छ। अहिले भइरहेका अस्पतालहरुमा विरामी भरिएकाले बेड अभाव भइसकेको अवस्थामा अन्य विरामीलाई अत्यावश्यक भएको बेलामा मात्रै अस्पतालमा जाने व्यवस्था मिलाउन पनि संघले सुझाव दिएको छ। संक्रमितको संख्या धेरै भएका ठाउँमा मेडिकल इमरजेन्सी लागू गरी लकडाउन गर्न पनि सुझाव दिएको छ।
संघले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि बीमाको व्यवस्थासहित उपचारको ग्यारेन्टी लिन पनि माग गरेको छ। यस्तै नागरिकलाई सामाजिक दुरी, मास्क र सेनिटाइजरको राम्रोसँग प्रयोग गर्न पनि अनुरोध गरेको छ। भिडभाडमा नजान र घर बाहिर ननिस्कन पनि अपील गरेको छ।

