भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना सङ्क्रमित भेटिएका छन्। एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ ।

त्यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ८१२ जनाको ज्यान गएको छ। त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ।
यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ। भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन्। गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन्।
कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ। यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड १९ लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन्। कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरसविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। रुसले विकास गरेको स्पुतनिक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन्।
भारतमा सोमबार मात्रै १४ लाख २ हजार ३६७ जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। अप्रिल २५ सम्म कूल २७ करोड ९३ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ।
कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग
दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन्। उनले भनेका छन्, “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’’ उनले भने।
यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ। बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन्।
राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । यहाँ आएका विरामीलाई अस्पतालले फर्काउँदैछन्। त्यस्तै पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ। भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ। भारतले देशभरमा ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ।
