काठमाडौँ : राजधानीमा पनि दिनहुँ दुई हजारको दरले कोभिड-१९ संक्रमित बढिरहेका छन् । शुक्रबार   उपत्यकामा ४६६ जना अइसोलेशनमा छन्, ७७ जना अइसीयु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

शुक्रबार मात्रै मुलुकभर २५ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भयो । ८ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित देखिएका हो । जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला बढी संक्रमित देखिनेमा पर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नक्सा सार्वजनिक गर्दै खतरामा रहेका जिल्लाहरूलाई रातो चिन्ह लगाएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुरलाई रातो चिन्ह लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल विज्ञहरूले सीसएमसीलाई कलडाउनको सिफारिस गर्न सुझाव दिइसकेका छन् । शनिबार बेलुका सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीले यही विषयमा प्रधानमन्त्री केपी ओलीसँग गर्दैछ ।

सरुवा रोग विशेषज्ञहरू अब कलडाउनबारे सोच्नुपर्ने बेला आएको बताउँछन् । लकडाउनले मात्रै समस्या समाधान नभए पनि तत्कालको लागि भने सोच्नुपर्ने अवस्था आएको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँन् । ‘पहिलो लहरको उत्कर्षमा पुगेको बेला र अहिले अवस्था झन्डै–झन्डै उस्तै छ,’ उनी भन्छन्, ‘बेड पाउन गाह्रो हुँदैछ । मानिसहरू घरमै संक्रमित भएर बस्नुपर्ने आइरहेको छ । मृत्यु हुने क्रम पनि बढ्दो छ ।’

डा‍.पुनको अनुसार अब आवश्यक कदम लिने बेला आएको छ । ‘अब सरकारले यो विषयमा छलफल गर्न ढिला गर्नुहुँदैन,’ उनी भन्छन्, ‘समुदायमा कोभिड पसिसकेको छ । समुदायमा नपसोस् भन्नको लागि लकडाउन गर्नुपर्ने देखिन्छ ।’ सरकारले लकडाउन गरेपनि स्वास्थ्यका मापदण्ड भने अपनाउने सल्लाह उनी दिन्छन् ।

शनिबार सरुवा रोग विशेषज्ञ डा. अनुप​ बास्तोलाले कोभिड–१९ संक्रमण बढिरहेकोमा चिन्‍ता व्‍यक्‍त गर्दै ट्विट गरे । ट्विटमा उनले टेकु अस्पताल भरिसकेको र थप बिरामी राख्ने सम्भावना न्यून भएको उल्लेख गरेका छन् । कोभिड संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढेको उनले बताएका छन् ।

एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यत्ति जटिल अवस्था भोग्नु नपरे पनि अहिले बिरामीमा सुधार हुने अनुपात पनि घट्दो भएको जानकारी उनले ट्विटरमार्फत् दिएका छन् । उनले लेखेका छन् – ‘हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरीघरी त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *