काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुटतिर अग्रसर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने वा टिकाउने भन्ने विषयमा विवाद हुँदा जसपा फुटतिर केन्द्रीत भएको हो।

कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने या ओली सरकारलाई निरन्तरता दिने भन्ने विषयको विवादले जसपा फुटको दिशामा पुगेकाे छ।                                                                                                जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष  उपेन्द्र यादव ओली सरकारको विपक्षमा देखिँदै आएका छन्।तर, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने ओली सरकारको पक्षमा देखिएका छन्।

सत्ता सहकार्यको विवाद चुलिँदै जाँदा साविक राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले आन्तरिक छलफल गरेका छन्। अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई सरकारसँग भइरहेको वार्ताका विषयमा जानकारी गराएका छन्। बैठकमा सांसदहरुलाई सरकारसँग भइरहेको वार्ता र त्यसको परिणामका विषयमा जानकारी गराएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए।

‘उहाँले राख्नुभएको बैठकमा हाम्रो माग सम्बोधन गर्नका लागि सरकार सकारात्मक भइरहेको बताउनुभयो’ अध्यक्ष ठाकुरको भनाइ उदृत गर्दै कर्णले भने, ‘सरकारले हाम्रो सबै एजेण्डा पूरा गरे सहयोग गर्न सकिन्छ। सरकारले माग सम्बोधनको प्रक्रिया अगाडि बढाइसकेको छ।’

जसपाले सरकारसँग सांसद रेशम चौधरी रिहा, मधेस तथा थरूहट आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतको माग अघि सार्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *