पोखरा । गण्डकी प्रदेशमा पहिलोपटक २५६ स्लाइसको सिटी स्क्यान सुविधा सुरु भएको छ ।

शनिबार पोखरा एम.आर.आई एण्ड डायग्नोस्टिक सेन्टरका म्यानेजिङ डाइरेक्टर तथा एमडी सुमिरन श्रेष्ठले सेन्टरको सुरुआत गर्दै गण्डकी प्रदेशमा पहिलोपटक २५६ स्लाइसको सिटी स्क्यान सुविधा सुरु भएको जानकारी दिएका हुन् । डायग्नोस्टिकको उद्घाटन पोखराका वरिष्ठ फिजिसियन डा.कुमार शमशेरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रदेशका बिरामीलाई सहज र सुलभ रुपमा गुणतिरीय हिसाबले रोग पत्ता लगाउन डायग्नोस्टिक सेन्टरको सुरुआत गरेको सेन्टरका डाइरेक्टर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार यो सिटी स्क्यान प्रदेशकै ठूलो सिटी स्क्यान हो ।
उक्त सिटी स्क्यानबाट विशेषगरी मुटु मस्तिष्क, फोक्सो, पेट, हातखुट्टाको रगताका नशा लगायत शरीका विभिन्न अंगको क्यान्सर सजिलै स्क्यान गर्न सकिन्छ । सेन्टरले बच्चाको लागि कम विकीरण (रेडियसन ) दिएर सिटी स्क्यान गर्ने श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार यसअघि मुटुको रगत र नशाको जाँचका लागि काठमाडौं जानुपर्ने अवस्था थियो । तर अब भने सो सुविधा पोखरामै उपलब्ध रहेको छ । ‘बिरामी अब कोरोनरी एनजियोग्राफी गर्न काठमाडौं जानु पर्दैन ।’ उनले भने, ‘यस सेन्टरमा सजिलोसँग मुटुको रगत र नशाको जाँच गरिन्छ ।’ पोखराका वरिष्ठ डाक्टरबाट सञ्चालनमा आउने सेन्टरमा १.५ टेस्लाको एमआरआइ मेमोग्राफी, युएसजी गाइडेड वायोप्सीको सुविधा रहेको सेन्टरले जानकारी दिएको छ ।
