सरकारले आज (मङ्गलबार) कोरोना भाइरस सङ्क्रमणबाट जोगिन स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड जारी गर्दै छ ।

मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले नयाँ मापदण्ड तयार पारेर सार्वजनिक गर्न लागेको हो ।
नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिक रुपमा देशवासीलाई अपील गर्ने भएको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गर्ने निर्णय गरेको हो । शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरिएकोमा अहिले तत्काल नहुने भएको छ ।

उपप्रधान एवं सीसीएमसी संयोजक ईश्वर पोखरेलले सरकारका तर्फबाट सार्वजनिक संचारमाध्यममार्फत देशवासीलाई मापदण्डको पालनाबारे अपील गर्नेछन् । साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उपप्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपील गर्ने बताइएको छ ।

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिति आंकलनसहितको छलफल मन्त्रिपरिषदमा भएको थियो । तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।

सङ्क्रमणको परिस्थिति हेरेर निर्णय लिने सरकारको तयारी छ । दोस्रो लहरमा बालबालिका बढी सङ्क्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दवाव भए पनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने सरकारको तयारी छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *