
भाइरसबारे देखिएको अन्योल तथा यसलाई हल्का रुपमा लिने बानीले यो महामारी अन्त्य हुन लामो समय लाग्ने उनले बताएका हुन् । यद्यपि, अबको केही महिनामा नै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै महामारीलाई नियन्त्रणमा ल्याउन सकिने उनको भनाइ छ ।
ग्याब्रियससले आफूहरु पनि सामाजिक गतिविधि र अर्थतन्त्र पुनः खुलेको र व्यापार तथा पर्यटन क्षेत्र सञ्चालन भएको हेर्न चाहेको बताए । अहिले पनि धेरै मुलुकको आईसीयू भरिइसकेको र मानिसहरुको मृत्यु भइरहेको अवस्थामा यो सही नहुने उनको भनाइ छ ।
‘कोरोना महामारी सकिन अझै लामो समय लाग्छ । तर, हामीसँग आशावादी हुने ठाउँ पनि छन् । यस वर्षको सुरुआती दुई महिनामा संक्रमणमा देखिएको कमीले यो भाइरस र यसका प्रकारहरु (भेरियन्ट)लाई रोक्न सकिन्छ भन्ने देखाएको छ’, ग्याब्रियसससले भने ।
उनले पछिल्लो समय कोरोना संक्रमण बढ्नुको कारण यसबारेको अन्योल, हल्कारुपमा लिने प्रवृति र जनस्वास्थ्यको नियम पालना नगर्नु रहेको बताए ।
एजेन्सीहरुको सहयोगमा
