धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो।

त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए। घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजिकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए।
“पीडित दुई परिवारहरु छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ”, उहाँले भने, “थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ।” नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिममा रहेको जानकारी आएको प्रहरीले जनाएको छ।

