नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जनता समाजवादी पार्टी (जसपा) का नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने बताएका छन् ।

उनले शनिबार एक वक्तव्य जारी गर्दै नेता महतोले सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा दुःखी भएको बताएका हुन् ।
‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:खी भएको छु’, उनले लेखेका छन्, ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो ।’
नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताउँदै उनले लेखेका छन्, ‘संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ । त्यो नेपाल हो राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ’, उनले भने छन्, ‘प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

