काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन बेलायती समकक्षी बोरिस जोन्सनलाई आग्रह गरेका छन् ।

बीबीसी विश्व सेवालाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतसँग सदियौं पुरानो सम्बन्ध रहिआएकाले बेलायतले नेपाललाई सहयोग गर्नु आग्रह गरिएको बताए ।
‘म बेलायत सरकार र विशेष गरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको कोभिड महामारीको कठिन अवस्थाबारे अवगत गराउन चाहन्छु’ उनले भने, ‘यदि हामीले खोप लगायौं भने मात्र महामारीलाई नियन्त्रण गर्न सक्छौं, नत्र कठिन अवस्था आउन सक्छ ।’
नेपाल बेलायतको पुरानो मित्र भएको नाताले पनि आफूले सीधै आग्रह गरेको समेत उनले बताए । ‘आफ्नो ज्यानलाई जोखिममा राख्दै गोर्खालीले बेलायतको सेवा गरेका छन्’ उनले भनेका छन्।
बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स संयन्त्रलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको र नेपालले त्यहीअन्तर्गत खोप सहायता प्राप्त गर्ने जनाए । यो वर्षभित्र नेपाललाई खोप प्राप्त गराउने बेलायती विदेश मन्त्रालयका प्रवक्ताको भनाइ छ ।
गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितियालाई पत्राचार गर्दै खोप आपूर्तिका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।

