कोरोना महामारीको दोस्रो लहर तीब्ररुपमा फैलिएसँगै विगत एक महिनादेखि ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेका छन्। तर बैंक तथा वित्तीय संस्थाहरु खुल्ला नै छन्।

निषेधाज्ञाको अवस्थामा बैंकहरु आधा मात्रै सञ्चालनमा आएका छन्। कोरोना जोखिममा बैकिङ क्षेत्र पनि परेको छ। निषेधाज्ञाले गर्दा उद्योग व्यापार व्यवसाय तथा निर्माण व्यवसायसमेत बन्द रहेका छन्। काठमाडौं उपत्यका लगायत ७५ जिल्लामा निषेधाज्ञा जारि भएको पनि एक महिना बढी भएको छ तर यो अवधिमा पनि बैंकहरुको कर्जा लगानी लगातार बढ्दो क्रममा रहेको छ।

जेठ लागेपछि मात्रै बैंकहरुको कर्जा लगानी १५ अर्ब रुपैयाँले बढीसकेको बैंकर्स संघले जनाएको छ। वैशाख १६ गतेदेखि निषेधाज्ञापछि बैंकहरुको कर्जा लगानी ३४ अर्ब रुपैयाँले बढेको छ। यसरी कर्जा बढीरहँदा बैंकहरुले निषेधाज्ञामै पनि औसतमा १ अर्ब बढी कर्जा लगानी गर्दै आएका छन्।

तर निषेधाज्ञा अघिको तुलनामा निषेधाज्ञापछि बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको छ। गत वर्षको जस्तो कर्जा लगानी तथा निक्षेप ठप्प भएको छैन। गत वर्ष लकडाउन सुरु भएदेखि बैंकहरुको कर्जा लगानी निकै कम भएको थियो। कर्जा लगानी नहुँदा गत वर्ष बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको थियो। गत वर्ष लकडाउन हुनुभन्दा अघि ग्राहकहरुले नगद होल्ड गर्न थालेपछि बैंकहरुमा निक्षेप संकलन हुन छाडेको थियो। तर अहिले निषेधाज्ञा भए पनि कर्जा लगानी सन्तोषजनकरुपमा भइरहेकोले धेरै लगानीयोग्य रकम थुप्रिन नपाएको बैंकहरुले जनाएका छन्।

नबिल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवालीले गत वर्ष र अहिलेको तुलना गर्दा गत वर्ष ३ सय अर्ब रुपैयाँ तरलता भएको र अहिले ५० अर्ब रुपैयाँ तरलता रहेको बताए । उनका अनुसार पछिल्लो समय राष्ट्र बैंकले सर्कुलर जारी गरेर कर्जा लगानीमा सहजता बनाएकाले बैंकहरुको वित्तीय अवस्था वृद्धि भएको देखिन्छ। उनले भने, निषेधाज्ञाको सुरुमा रेमिट्यान्स ह्वात्तै आयो। भारत रहेका नेपाली त्यहाँ कोरोना संक्रमण बढेपछि नेपाल आए। अन्य ठाउँबाट पनि रकम आएकाले सुरु निक्षेप बढेको थियो। अहिले यो अवस्था पनि भएको छैन। कर्जा लगानीमा केही बढेको हो।

अहिले पहिलेको जस्तो निक्षेप बढेको छैन। केही मात्रामा कर्जा लगानी भइरहेकाले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको पनि छैन। पहिलेको जस्तो तरलता थुप्रिने अवस्था पनि नभएर घट्ने अवस्था रहेको उनको भनाइ छ।

त्यस्तै, सिटिजन्स बैंकका प्रवक्ता नारायण अधिकारीले निषेधाज्ञा अघि बैंकहरूले यसअघि नै स्वीकृत भइसकेको कर्जा दिन थालेकाले कर्जा बढेको बताए। उनका अनुसार यी भन्दा अन्य मालपोत कार्यालय बन्द भएकाले घरजग्गा कर्जा लिन आउने अवस्था पनि नभएकाले अन्य कर्जा वृद्धि नभएको हो।

बैंकिङ्ग प्रणालीमा तरलता कम भएकै कारण निषेधाज्ञापछि मात्रै केन्द्रिय बैंकले दुई पटक रिपोमार्फत बजारमा रकम पठाइसकेको छ। केन्द्रिय बैंकले ३० अर्ब रकम बजारमा पठाउँदा पनि बैंकहरुमा अहिले ४० अर्बभन्दा कम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, आर्थिक गतिविधि चलायमान नहुँदा पनि आयात भने बढ्दो क्रममा छ। पछिल्लो समय आयात बढ्दो क्रममा रहेका कारण नै बैंकहरुको कर्जा लगानी पनि बढीरहेको हुन सक्ने बैंकरहरु बताउँछन्।

निषेधाज्ञा अघि अर्थात बैशाख १६ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३५ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो। उक्त कर्जा लगानी गत जेठ १४ गतेसम्ममा बढेर ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा कर्जा ३३ अर्बले बढेको हो।

यसैगरी, वैशाख १६ गतेसम्म ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन जेठ १४ गतेसम्म बढेर ३९ खर्ब ५६ अर्ब पुगेको छ। यसमा ३८ खर्ब ३७ अर्ब स्वदेशी र १ खर्ब १९ अर्ब विदेशी मुद्राको निक्षेप रहेको छ।

बैशाख यता पनि गत वर्षभन्दा यस वर्ष बैंकहरुको कर्जाको वृद्धिदर धेरै देखिएको छ। गत एक सातामा नै वाणिज्य बैंकहरुले ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् तर निक्षेप संकलन भने ५ अर्ब रुपैयाँले घटेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *