काठमाडौँ :एमालेभित्र बढ्दो टकरावबीच झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय समिति बैठक आव्हान गरेको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । कोभिडका कारण बैठक भर्चुअल हुनेछ । खनाल-नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता संकटमा परेको निष्कर्ष निकालेकै बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।
नेपालनिकट दोस्रो पुस्ताका केही नेता पार्टी अध्यक्ष केपी ओली पक्षीय नेताहरुसँग अनौपचारिक संवादमा रहेकै बेला नेपालले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । जबकि ठीक यही बेला संस्थापनपक्षले पनि खनाल-नेपाललगायत शीर्ष नेताबाहेक धेरैभन्दा धेरै नेता कार्यकर्ता समेटेर पार्टीलाई एकढिक्का राख्ने रणनीति बनाएको छ । दुवैपक्षका फरक फरक रणनीतिले एमाले एकता दिनप्रतिदिन धरापमा पर्दै गएको छ ।
नेता नेपालले बुधबार जनवर्गींय संगठनका नेताहरुसँग भर्चुअल बैठक गर्दै ओली सच्चिने ठाँउ नरहेकाले अब वैकल्पिक तयारीमा लाग्ने बेला आएको बताएका थिए ।
बैठकमा नेपालले संसद् पुनर्स्थापनाको सम्भावना देखेपछि ओलीले फेरि पार्टी एकताको कार्ड फालेकोसमेत सुनाएको विद्यार्थी संगठनका एक नेताले बताए । उनका अनुसार नेपालले ओलीसँग कुनै ठोस प्रगति नभएको, ओली सच्चिने संकेत नमिलेको र फेरि जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्ने बताएका थिए ।

