काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि भएको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शनिबार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरूले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु पर्ने धारणा राखेका छन्।
“गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो। जनतामार्फत निर्धारित गरिएको जनताको तन्त्र हो। जनतालाई केन्द्रविन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो। मानिस जन्मदैँ धर्तीमा रहेका स्रोतसाधन निर्वाध उपभोग गर्न पाउने अधिकारसहित जन्मन्छ। जनताको श्रेष्ठता र सर्वोच्चता हुने, स्वच्छ प्रतिस्पर्धा रहने गणतन्त्रात्मक शासन प्रणाली सामाजिक रूपान्तरणको माध्यम हो। ” उनले भने, “संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्ने गरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दीगो हुन सक्दैन। जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु पर्दछ।”
प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव भएको धारणा राखे। उनले जनता वास्तविक अर्थमा सार्वभौम बनेको आजको दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको बताए। जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी र निष्ठासाथ क्रियाशील रहेका ओलीको भनाइ छ।

