झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि हरेक नागरिक सिपाहीका रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।

झापा दमकस्थित दमक बहुमुखी क्याम्पस भवनको भर्चुअल रूपमा शिलान्यास गर्दै उनले सो धारणा राखेका हुन् ।
भर्चुअल शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले कोरोना महामारी नियन्त्रण गर्न सरकार लागिपरेको र त्यसकै लागि सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताए।उनले बाहिरबाट खोप ल्याउने काम भइरहेको पनि जानकारी गराए। सो क्रममा दमकका छिट्टै अक्सिजन प्लान्टसमेत निर्माण हुने र निर्माणाधिन दमक अस्पतालको भवनमा उपकरणको अभाव हुन नदिने जानकारी प्रधानमन्त्रीले गराए ।
उक्त कार्यक्रममा विकास र चुनावका सन्दर्भमा बोल्ने क्रममा प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरिसकेकाले हुन्छ र हुँदैन भन्ने अलमलमा पर्न नहुने बताए । चुनाव हुने भनेपछि केही तत्व विकास निर्माणका काम ठप्प पार्नु पर्छ भनेर लागि रहेको भन्दै ओलीले त्यो सम्भव नहुने र सरकार निरन्तर जनताका काममा लाग्ने बताए ।
सरकारले जनताबीचमा लोकप्रिय हुने विभिन्न काम गरेको भन्दै उनले सरकारको लोकप्रियताबाट आतिएकाले नै विकास निर्माण ठप्प पार्नु पर्छ भनेर हल्ला चलाइरहेको टिप्पणी गरे ।
यस अघि सरकारले विभिन्न बृहत योजनाहरू शिलान्यास एवम् उद्घाटन गरेको भन्दै क्याम्पसको भवन पनि निर्धारित समयमा नै पूरा गराउन सबै पक्ष लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

