काठमाडौं : सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ। अध्यक्षत्रय पशुपति शमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त प्रेस वक्तव्य जारी गर्दै अध्यादेशप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

‘नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमतिबिना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेकोमा राप्रपाको गम्भीर ध्यान आकर्षित भएको छ। प्रत्येक नेपालीले सहज र सरल रूपमा नागरिकताको प्रमाणपत्र पाउनुपर्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित गरिनु हुँदैन र कुनै पनि विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने राप्रपाको दृढ मान्यता रहेको छ।’

‘२०७५ सालमा पेश भएको नागरिकता विधेयकलाई सरकारले नै पारित गर्न तीन वर्षदेखि अवरोध सिर्जना गरेको जगजाहेर छ।’ अगाडि भनिएको छ, ‘अहिले अध्यादेश जारी गर्दा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकका सम्बन्धमा पेश गरेको महत्वपूर्ण संशोधन र सुझावलाई उपेक्षा गर्नुले पनि सरकारको बदनियत प्रमाणित हुन्छ।’

राप्रपाले विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हितविपरीत प्रावधान राखेर जारी भएको अध्यादेशबारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।               

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *