काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ त्रुटीपूर्ण रहेकाले पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। आइतबार दायर गरिएको रिट सर्वोच्च अदालत प्रशासनले सोमबार  दर्ता गरेर सुनुवाइका लागि मंगलबारको पेसी तोकेको हो।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै पुन : शपथका लागि रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री पदको शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द ‘प्रतिज्ञा गर्छु’उच्चारण गर्न अस्वीकार गर्दै ‘त्यो पर्दैन’भनेपछि राष्ट्रपतिले पनि त्यसैलाई मानेकी थिइन्। प्रधानमन्‍त्रीको शपथजस्तो अति नै महत्वपूर्ण एवं संवेदनशील समारोहमा भएको यो घटनाको सबैतिरबाट विरोध र आलोचना भएको छ।

रिट निवेदकहरुले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीले फेरि शपथ नलिएसम्म उनले गर्ने काममा रोक लगाउन पनि रिटमा माग गरिएको छ। रिटमा संविधानमाथि अपमानजनक र हेपाह व्यवहार भएको उल्लेख गरिएको छ।

त्यस्तै रिट निवेदकहरूले दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापाको नियुक्ति बदर गर्न माग गरेका छन् । मन्त्री पदमा पुनः नियुक्त हुँदा संघीय संसद् नभइ मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था रहेको तर त्यसविपरीत नियुक्ति गरिएको भन्दै उनीहरुले नियुक्ति बदर गर्न माग गरेका छन्।
“अन्नपूर्ण पोस्ट” बाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *