गाजास्थित प्यालेस्टिनी अधिकारीहरूका अनुसार एक साताअगाडि इजरेलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रह्यो।

इजरेली हवाई हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ।

इजरेली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्।

गाजास्थित प्यालेस्टिनी हमास लडाकुहरूविरुद्ध इजरेलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरेली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन्।

शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएका छन्।

आइतबार सङ्घर्ष सुरु भएयताकै सबभन्दा घातक दिन रह्यो। मध्यरातपश्चात् इजरेली हवाई हमलामा गाजाको व्यस्त सडक परेको थियो। त्यहाँ तीनवटा भवन भत्कँदा दर्जनौँको ज्यान गएको थियो।

हमासले राति नै दक्षिण इजरेलतर्फ कैयौँ रकेट प्रहार गरेको थियो। दिउँसो पनि हमला जारी रह्यो।

दशौँ लाख इजरेलीहरू हमलाको साइरन बज्नासाथ घरको सुरक्षित कोठातिर दौडिएका थिए।

प्यालेस्टिनीहरूले पनि सावधानी अपनाउने कोसिस गरे। तर सघन बसोबास भएको गाजामा धेरैसँग अन्त जाने विकल्प थिएन।

रियाद एस्कुन्तानाले रोयटर्स समाचारसंस्थालाई बताएअनुसार उनले छोरीहरूलाई घरको सबैभन्दा सुरक्षित ठानिएको कोठामा सुत्न पठाएका थिए।

तर केवल एउटी छ वर्षीया छोरी मात्र बाँचिन्। उनका पत्नी तथा तीन छोरीको ज्यान गयो।

गाजाका अधिकारीहरूले भनेका छन्, पछिल्ला इजरेली हवाई हमलामा परी १६ महिला र १० बालबालिकासहित ४२ जनाको ज्यान गएको छ।

गत सोमबारयता इजरेलमा रकेट हमलाहरूमा परी १० जनाको ज्यान गएको इजरेलले बताएको छ।

हालसम्म गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन्।

बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन्।

यसैबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले युद्धविराम गराउनका निम्ति अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ।

महासचिव एन्टोनियो गुटेरजले जारी हिंसा अत्यन्त चिन्ताजनक भन्दै तत्काल लडाइँ रोकिनुपर्ने बताएका छन्।

पन्ध्र सदस्यीय सुरक्षा परिषद्ले पछिल्ला दिनमा कुनै सार्वजनिक विज्ञप्तिमा सहमति जनाउन सकेको छैन।

इजरेलको बलियो सहयोगी अमेरिकाले त्यस्ता वक्तव्य कूटनीतिक प्रक्रियाका निम्ति सहयोगी नहुने भन्दै आएको छ।

बीबीसीका कूटनीतिक संवाददाता पाउल एडम्स भन्छन्, स्थानीय विवरणहरूमा हमासले कैयौँ दिनदेखि कुनै किसिमको युद्धविरामका निम्ति चासो देखाइरहेको छ। तर इजरेलले मानेको छैन।

इजरेलले लडाइँ सकिनुअगावै हमासविरुद्ध सकेसम्म धेरै क्षति गराउन चाहेको देखिएको उनले बताए।

बीबीसी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *