नेपालगञ्जस्थित भेरी अस्पताल र कर्णाली प्रदेशमा गरि ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमित र कर्णालीमा तीन जनाको मृत्यु भएको हो।

नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार, वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख ६ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा आज बिहान २ः३० बजे मृत्यु भएको हो।
यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए।
कर्णालीमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु
कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन्।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए। उनका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।
भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए। त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ। तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ।

